राज बहादुर चन्द
महेन्द्रनगर :
हिन्दु धर्मावलीहरुका महान चाड पर्वहरु मध्ये विजयादशमी पछी दोश्रो पर्वको रुपमा मनाइने पर्व तिहार हो । यसलाइ दीपावली पनि भनिन्छ जसलाइ कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने भएकोले यम पञ्चकको रुपमा पनि सम्बोधन गर्ने गरिन्छ । यो पर्व ५ दिनसम्म धुमधामका साथ मनाइने गरिन्छ ।

काग तिहार :

पहिलो दिनलाई काग तिहार भनिन्छ, तिहारको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गरिन्छ । काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ ।
कुकुर तिहार:

तिहारको दोश्रो दिन कुकुर तिहार, ऋग्वेदमा स्पष्ट रूपमा ‘समरा’ को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरूकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । वैदिक सनातन हिन्दु परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतका रुपमा मानिन्छ र मृत्युपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहि आएको छ ।
महाभारतमा पनि सत्यवादी युधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदाहरण र सत्मार्ग को प्रतिनिधिका रूपमा लिइन्छ । तन्त्र साधक निडर भगवान् भैरवको वाहन पनि कुकुर नै हो भने चाणक्य नीतिमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रूपमा उल्लेख गरिएको छ । आज यिनै कुकुरहरूको पूजा गरिने दिन हो है, आजको दिन कुकुरलाई विधीवतरुपमा पूजा गरी खान दिने मानिसहरूलाई पुण्य प्राप्त हुने जनश्रुति छ । मानव समाज र कुकुरहरूको बलियो र पुरानो सम्बन्ध छ, आज त्यो सहअस्तित्वको अर्चना गरिन्छ । आज घरपालुवा मात्र नभई सडकका कुकुरहरूलाई पनि माला पहिराइ, अबिरको टिका लगाई खाना खान दिने गरिन्छ । यसरी फूलको माला लगाइदिनाले माला पहिराउने यो विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्त्व दिएको मानिन्छ यस अर्थमा आज कुकुरहरूप्रति समर्पित दिन हो । आजको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिस यमराजको दण्डको भोगी हुन्छ भन्ने मान्यता रहिआएको छ । यसर्थ बिहान सबेरै उठेर नित्यकर्म र स्नान गरी कुकर पूजा गर्ने चलन छ ।
गाई तिहार र लक्ष्मी पूजा:

तिहारको तेश्रो दिन गाई तिहार र लक्ष्मी पूजा गरेर मनाइने गरिन्छ । यस दिन बिहान हिन्दुहरुको प्यारो र धार्मिक हिसाबले शरीरमा विभिन्न देवि-देवताहरुको वास भएकी गौमाताको पूजा गरिन्छ । सयपत्री फूलको माला लगाई मीठो खाना दिएर गरिने पूजा प्रख्यात छ ।
त्यस पछि बेलुकीपखँ हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबरले लिपेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको आँगन, आँगनमा मिठो मिठो वासना आउने सेल रोटी, अर्सा अनि अनर्सा पकाउने गरिन्छ । आजको दिन साझँ देखि राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना अनि श्री-सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ ।
“भैलिनी आयौ आँगन, गुन्यू चोलो माँगन्
हे औँसीको बारो, गाईतिहारो भैलो….”
आजको साँझ विभिन्न रङ्गहरू प्रयोग गर्दै आँगनमा विभिन्न प्रकारका रङ्गोली बनाउने चलन पनि छ । अर्कोतर्फ आजको दिन राती लक्ष्मी माता पृथ्वी लोकमा आउने र आशिर्वाद दिएर जाने जनउक्ति पनि छ, त्यसै कारणले आज घर अगाडीको तुलसी मोठ या आँगनको प्रवेशद्वारबाटै लक्ष्मीका पाइलारूपी रङ्गिन डोबहरूका छाप घरका सम्पूर्ण कोठाहरूमा लगिन्छ, यी नै पाइलाका छाप अनुरूप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वास पनि रहेको पाईन्छ ।
रङ्गहरू, बत्तीहरू अनि पर्वमय उल्लासले गर्दा आजको दिन सम्पूर्ण ताराहरू आकाशबाट पृथ्वी लोकमा झरेर सबैका आँगनमा बत्तिका रुपमा बलिरहेका छन् जस्तो लाग्छ । यी बत्तिहरुझै हामी सबैको जीवनको आशाको बत्ती कहिल्यै ननिभोस्, भैलिनीका आशीषहरु हामीलाई जस्ताको त्यस्तै लागोस् ।
गोबर्धन पूजा:
तिहारको चौथो दिन गोबर्धन पूजा मनाइन्छ । उक्त दिन तिहार महत्वपूर्ण दिन अर्थात् यमपञ्चकको गोरु पूजा गरि मनाउने दिन हो । नेपाल लगायत विश्वभरि कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । भगवान श्री कृष्णसँग आजकै दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ । आजको दिन, श्री कृष्णले आफ्नो औंलाले उठाएको त्यही गोवर्द्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोवर्द्धन पर्वतको पूजाआजा गर्दा गाईवस्तुको गोबरलाई नै गोवर्धन पर्वतको प्रतिकका रुपमा पूज्ने चलन रहिआएको छ ।
भाइ–टिका :

यम पञ्चकको पाँचौ दिन अर्थात तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। यो पर्व दिदी बहिनीले दाजु भाइलाई र दाजु भाइलरे दिदीबहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा रहेको छ। परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित पाइन्छ। दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ। यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ। यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ।
भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमनालाई भेट्न आएका थिए। यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा। त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाईन्। त्यो बेलामा यमपञ्चक परेको थियो। यमपञ्चकभर यमुना कहाँ बसे। भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन्। त्यहीबेलादेखि भाइटीकाको सुरूवात भएको विश्वास गरिन्छ।
पूजा विधि
भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ। यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ। दिदीबहिनी भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान-सुपारी आदि दिइन्छ। भाइटीकाका दिन टीका नलगाई केही खान हुँदैन। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ। यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवी भित्र पर्छन्। भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा-मीठा परिकारको आवश्यकता पर्छ।
सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ। त्यसपछि, दाजुभाइको मङ्गलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ। पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई घेर्नु पर्छ। फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ। सगुनका रूपमा दही दिनुपर्छ। भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ। मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ। दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइ दिन्छन्।
सप्तरङ्गी टीकामा भावना मिसिएकोले दाजुभाइ प्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइ दिन्छन्। यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ। टीका लगाएपछि उपहार आदान-प्रदान गरिन्छ। दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन्। यसै गरि सुदूर पश्चिम प्रदेमा पनि तिहार अर्थात दिपावली मनाउने गरिन्छ । र मीठा मीठा परिकार पकार्इ दीप मालिका बाली दीपावली मनाउने परम्परा रहेको छ । कार्तिक अमावस्याका दिन भगवान श्रीरामले लंका विजय गरी अयोध्या पुगेको दिन भएकाले सधैं दीपावली मनाउने परम्परा रहेको भनाई छ ।
२०८२ सालको कात्तिक २ मा अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष ढकालले बताए । सोमबार बिहान अरुणोदयकाल अघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने मान्यता छ ।
- ३ कात्तिकको दिउँसो २:५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको हो । रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि रहेको छ ।
- ४ कात्तिक, मंगलबार औँसी तिथि दिउँसो ४:२९ बजेसम्म परेको छ । यमपञ्चक अर्थात् तिहारको मध्य समय परे पनि शास्त्रले तोकेअनुसार कुनै कर्म परेको छैन ।
- ५ कात्तिकमा गाईगोरु एवं गोवर्द्धन पूजा परेको छ । हलि तिहार, बलीपूजा र आत्म (म्ह) पूजा र नेपाल संवत् ११४६ आरम्भ यसै दिन परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११:४५ यसै दिनदेखि सुरु हुन्छ ।
- ६ कात्तिक, बिहीबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११:३९ बजे भाइटीकाको शुभ साइत रहेको नेपाल पञ्चाङ्ग समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिए । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ । भाइटीका लगाइमा ग्ने दाजुभाइ पश्चिम फर्केर बस्नुपर्छ । लगाइ दिने दिदीबहिनी भने पूर्व फर्कनु पर्ने जनाइएको छ ।
सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने उनले सुनाए । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व ६ कात्तिकमा गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।
