कञ्चनपुर, ९ असोज २०८३ — जोगबुडा नदीको जलस्तर बढेसँगै बाढीको जोखिम बढेपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ स्थित पटराखल्ला बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै शुक्रबार बिहान ११ः३० बजेदेखि दिउँसो २ बजेसम्म स्थानीय जनप्रतिनिधि, सशस्त्र प्रहरी र नगर प्रहरीको सहयोगमा जोखिममा रहेका अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा आवश्यक सामग्रीलाई नजिकै रहेको जमुना आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको हो।
विगतमा जगबुडा नदीमा आएको बाढी बस्तीमा पस्दा ठूलो धनजनको क्षति भएको अवस्थालाई मध्यनजर गर्दै सम्भावित जोखिमबाट बच्न स्थानीयलाई समयमै सुरक्षित स्थानमा सारिएको जनाइएको छ।
स्थानान्तरण कार्यमा सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म देवीस्थानबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रभातकुमार गौतमको कमाण्डमा खटिएको ११ जना सुरक्षाकर्मी तथा दोधारा चाँदनी नगर प्रहरीका हवल्दार तिलक भट्टसहित ७ जना सुरक्षाकर्मीको टोली सहभागी भएको थियो।
पटराखल्ला बस्तीमा हाल करिब ३० घरपरिवार बसोबास गर्दै आएका छन्। जगबुडा नदीमा बाढी आएको अवस्थामा विगतदेखि नै स्थानीयले जमुना आधारभूत विद्यालयलाई आश्रयस्थलका रूपमा प्रयोग गर्दै आएका छन्।


टिप्पणी