कञ्चनपुर, १६ भदौ २०८३ – प्राध्यापक डा. तारा दत्त भट्ट सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त भएका छन्। लामो समयदेखि उच्च शिक्षा, अनुसन्धान तथा विश्वविद्यालय प्रशासनमा सक्रिय भट्टसँग शैक्षिक नेतृत्व र प्रशासनको करिब चार दशक लामो अनुभव छ।

भट्टले त्रिभुवन विश्वविद्यालयमा केन्द्रीय शिक्षा विभागका प्रमुख, अनुसन्धान निर्देशनालयका कार्यकारी निर्देशक तथा अनुसन्धान डिभिजनका प्रमुख लगायतका जिम्मेवारी सम्हालिसकेका छन्। केन्द्रीय शिक्षा विभागको नेतृत्व गर्दा उनले शैक्षिक कार्यक्रमको योजना तथा कार्यान्वयन, विभागीय प्रशासन, बजेट व्यवस्थापन, स्रोत परिचालन तथा जनशक्ति व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए।

त्यसैगरी, त्रिवि अनुसन्धान निर्देशनालयको कार्यकारी निर्देशकका रूपमा उनले विश्वविद्यालयको अनुसन्धान रणनीति तथा योजना निर्माण, अनुसन्धानसम्बन्धी प्रशासन, अनुदान व्यवस्थापन, अनुसन्धान प्रस्तावको समीक्षा, बौद्धिक सम्पत्ति अधिकार तथा विभिन्न संस्थासँग सहकार्यको क्षेत्रमा काम गरेका थिए। उनले त्रिभुवन विश्वविद्यालय जर्नल प्रकाशनको जिम्मेवारीसमेत सम्हालेका थिए।

भट्टले पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर कार्यक्रम संयोजक, कार्यवाहक क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखका रूपमा समेत काम गरेका छन्। क्याम्पस प्रशासन, बजेट तथा स्रोत व्यवस्थापन, जनशक्ति व्यवस्थापन, शैक्षिक गुणस्तर, पूर्वाधार विकास र रणनीतिक योजनामा उनको अनुभव रहेको छ।

सुदूरपश्चिम विश्वविद्यालयसँग पनि उनको लामो शैक्षिक सम्बन्ध छ। उनी सन् २०७६ देखि विश्वविद्यालयको अंग्रेजी शिक्षा विषय समितिका अध्यक्ष तथा भिजिटिङ प्रोफेसरका रूपमा कार्यरत थिए। हालै उनले विश्वविद्यालयको सेवा आयोगको सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरेका थिए। सेवा आयोग सदस्यका रूपमा विज्ञ छनोट, पाठ्यक्रम निर्माण, परीक्षा सञ्चालन, नतिजा प्रकाशन तथा शिक्षक–कर्मचारी नियुक्तिसम्बन्धी प्रक्रियामा संलग्न थिए।