कञ्चनपुर, १६ भदौ २०८३
रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका-१७ नम्बर वडा कार्यालयले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
वडा अध्यक्ष पदम सिंह बुढाको अध्यक्षतामा बसेको बैठकले बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारको शीघ्र उद्धार तथा राहतको कामना गरेको छ।
बैठकले यस वर्ष वडा कार्यालयबाट आयोजना गरिने हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज कार्यक्रमका लागि विनियोजन गरिएको बजेटमध्ये ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
वडा कार्यालयले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिन भीमदत्त नगरपालिका नगर कार्यपालिकाको कार्यालयलाई अनुरोध गर्दै पत्राचारसमेत गरेको छ।
भोटेकोसीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै विपद्को समयमा स्थानीय तहबाट समेत सहयोग र एकताको सन्देश दिन सहयोग गर्ने निर्णय गरिएको वडा कार्यालयले जनाएको छ।


प्रतिक्रिया