कञ्चनपुर, १२ भदौ २०८३ — रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा कञ्चनपुरको महेन्द्रनगरमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली तथा शान्ति प्रार्थना कार्यक्रम सम्पन्न भएको छ।

भिमदत्त नगरपालिका–४ स्थित मदनचोकमा गैरसरकारी संस्था महासंघ कञ्चनपुर र ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय महेन्द्रनगरको संयुक्त आयोजनामा शुक्रबार साँझ कार्यक्रम गरिएको हो।

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय महेन्द्रनगरकी प्रमुख भगवती थापाको नेतृत्वमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका मानिसहरुको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए।

कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहरा तथा गैरसरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष अमिर तिरुवालगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा बाढीका कारण प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्को यस दुःखद घडीमा पीडितको साथमा उभिनुपर्नेमा जोड दिइएको थियो।