कञ्चनपुर, ७ भदौ २०८३ – भारतको हल्द्वानीस्थित उत्तराखण्ड मुक्त विश्वविद्यालयले नेपालका सीमा क्षेत्रमा विद्यार्थीहरुलाई लक्षित गर्दै गरेको तीनदिने प्रचार–प्रसार तथा शैक्षिक जानकारी अभियान कञ्चनपुरमा सम्पन्न गरेको छ।

अभियानको अन्तिम दिन महेन्द्रनगरस्थित होटल ओपेरामा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै विश्वविद्यालयका प्रतिनिधिहरुले खुला तथा अनलाइन माध्यमबाट उच्च शिक्षा हासिल गर्न सकिने विश्वविद्यालयका शैक्षिक कार्यक्रमबारे जानकारी गराएका हुन्।

विश्वविद्यालयका अनुसार अनलाइन प्रणालीमार्फत कक्षा सञ्चालन हुने भएकाले रोजगारी वा विभिन्न पेशामा आबद्ध विद्यार्थीले आफ्नो समय अनुकूल अध्ययन गर्न सक्नेछन्। विश्वविद्यालयमा स्नातक, स्नातकोत्तरदेखि पीएचडी तहसम्म विभिन्न विषयमा अध्ययन गर्ने अवसर रहेको प्रतिनिधिहरूले जानकारी दिए।

प्रचार–प्रसार टोलीले भ्रमणका क्रममा सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा समेत पुगेर शैक्षिक कार्यक्रम तथा विश्वविद्यालयको अध्ययन प्रणालीबारे जानकारी गराएको जनाएको छ।

सीमा क्षेत्रमा उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीको संख्या विगतको तुलनामा घट्दै गएको अवस्थामा उत्तराखण्ड मुक्त विश्वविद्यालयको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी रोजगारी, व्यवसाय वा अन्य व्यस्तताका कारण नियमित कलेज जान नसक्ने विद्यार्थीका लागि खुला तथा अनलाइन शिक्षाको विकल्प उपयोगी हुनसक्ने शिक्षासँग सम्बन्धित जानकारहरूको भनाइ छ।

विश्वविद्यालय भ्रमण टोलीका एक सदस्यले नेपालका सीमा क्षेत्रमा रहेका विद्यार्थीहरुलाई सहज हुने गरी भारतका सीमा नजिक रहेका शहरमा परीक्षा दिन सकिने व्यवस्था समेत रहेको जानकारी दिए। यसले सीमावर्ती क्षेत्रका विद्यार्थीहरुलाई अध्ययनसँगै आवतजावत र परीक्षामा सहभागी हुन सहज हुने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमका सीमा क्षेत्रका बासिन्दाहरुका अनुसार विगतमा उच्च शिक्षाका लागि भारत जाने परम्परा रहे पनि सुदूरपश्चिम विश्वविद्यालयको स्थापना र स्थानीयस्तरमै उच्च शिक्षाका अवसर विस्तार भएपछि यस्तो क्रम तुलनात्मक रूपमा घटेको छ।

यद्यपि, विभिन्न क्षेत्रमा रोजगारी गरिरहेका तथा पारिवारिक र व्यावसायिक जिम्मेवारीका कारण नियमित क्याम्पस जान नसकेका विद्यार्थीका लागि भने उत्तराखण्ड मुक्त विश्वविद्यालयको लचिलो अध्ययन प्रणाली उच्च शिक्षा पूरा गर्ने वैकल्पिक बाटो बन्न सक्ने देखिएको छ।

विश्वविद्यालयको तीनदिने नेपाल प्रचार–प्रसार भ्रमणले सीमा क्षेत्रका विद्यार्थीलाई भारतमा उपलब्ध खुला तथा अनलाइन उच्च शिक्षाका अवसरबारे जानकारी गराउनुका साथै नेपाल–भारतबीचको शैक्षिक सम्बन्धलाई थप विस्तार गर्ने आधारसमेत तयार गरेको सहभागीहरूको भनाइ छ।