कञ्चनपुर, ०६ भदौ २०८३ – बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ निवासी ३ वर्षीया बालिका गरिमा चौधरीको निर्मम हत्याको विरोधमा कञ्चनपुरको भीमदत्त नगरमा विरोध प्रदर्शन र र्‍याली आयोजना गरिएको छ।

​बुधबार भीमदत्त नगरपालिका–४ स्थित मदनचोकलाई केन्द्रविन्दु बनाएर विभिन्न सामाजिक अभियन्ता, संस्थाहरू र स्थानीय नागरिकहरूले दिनभर जसो छुट्टाछुट्टै र्‍याली, धर्ना र कोणसभा गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका हुन्।

बिहानैदेखि प्रदर्शन र बजार परिक्रमा

​बिहान करिब सवा दश बजेतिर युवा समाजसेवी निरज विष्टको नेतृत्वमा जम्मा भएका करिब ४५ देखि ५० जनाको समूहले “गरिमालाई न्याय देउ”, “दोषीलाई कठोर सजाय देउ” भन्ने नाराका साथ भीमदत्त नगर क्षेत्रमा शान्तिपूर्ण र्‍याली निकालि महेन्द्रनगर बजार परिक्रमा गरेको थियो।

​यसैगरी, मध्याह्नको समयमा समाजसेवी सुनिता झुकाल विष्टको नेतृत्वको समूहले मदनचोकमा धर्ना दिएको थियो। “न्याय चाहियो”, “We want Justice”, “न्याय दे, बलात्कारीलाई फाँसी दे” जस्ता नारा लेखिएका प्लेकार्डसहित उत्रिएको उक्त समूह करिब एक घण्टा पश्चिमी  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको गेट अगाडि पुगेर प्रदर्शन गरेका थिए।

सोही बिषयलाई लिएर ​अपराह्नको समयमा ‘युनाइटेड ब्रदर्स’का अध्यक्ष शशांक रावलको नेतृत्वमा रहेको युवा समुहले “बलात्कारीविरुद्ध हाम्रो आवाज” लेखिएको ब्यानरसहित अर्को शान्तिपूर्ण र्‍याली आयोजना गर्‍यो।

​मदनचोकबाट सुरु भएको उक्त र्‍यालीले महेन्द्रनगर बजार परिक्रमा गर्दै जानकीटोलस्थित जिल्ला प्रहरी कार्यालयको गेटमा पुगेर नाराबाजी गरेको थियो। त्यसपछि पुनः मदनचोकमा फर्किएर कोणसभामा समेत गरि कार्यक्रम समापन भएको थियो।

​प्रदर्शनकारीहरूले पीडित पक्षलाई अविलम्ब न्याय दिलाउन, सुरक्षाको प्रत्याभूति गर्न र दोषीलाई मृत्युदण्ड/फाँसी  सम्मको सजाय दिन माग गरेका छन्।