धनगढी, २९ साउन २०८३ – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

शुक्रबार  बिहान ११ः३० बजे धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीस्थित सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि साउन २९ गते बिहान ११ बजेसम्म मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका थिए। तोकिएको समयभित्रै नेकपाका नेता खगराज भट्टले नेकपा एमालेको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

दाबीका लागि आवश्यक समर्थन जुटाएपछि प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नियुक्त भएका मुख्यमन्त्री भट्टले आजै दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

यसअघि गत असार ३१ गते नेकपा एमालेले बजेटप्रति असहमति जनाउँदै मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको थियो।

सरकारले प्रदेशसभाबाट विश्वासको वातावरण कायम गर्न नसक्ने अवस्था बनेपछि मुख्यमन्त्री शाहले २०८३ साउन २८ गते प्रदेशसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिने घोषणा गरेका थिए। घोषणा लगत्तै उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको थियो।

भट्टको नियुक्तिसँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सत्ता समीकरण बनेको छ। नेकपा एमालेको समर्थनमा नेकपाका नेता भट्टले प्रदेश सरकारको नेतृत्व सम्हाल्ने भएका छन्।