धनगढी, २८ साउन २०८३ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत नलिई राजीनामा दिने घोषणा गरेका छन्।
सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १८औँ बैठकमा बिहीबार मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनुपर्ने अवस्थामा विश्वासको मत माग्ने प्रक्रिया अघि नबढाई प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन्।
धनगढी उपमहानगरपालिका–१, पार्कमोडस्थित प्रदेशसभा हलमा सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकमा मुख्यमन्त्री शाहसहित उपसभामुख कोइलीदेवी चौधरी, प्रदेश सरकारका मन्त्री तथा राज्यमन्त्री र प्रदेशसभा सदस्यहरूको सहभागिता रहेको थियो।
मुख्यमन्त्री शाहले प्रदेशसभा नियमावली, २०८० को नियम १४९ को उपनियम (४) बमोजिम वक्तव्यसहित विश्वासको मत माग्ने प्रक्रिया अघि नबढाई प्रदेशसभालाई सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले राजीनामा दिने घोषणा गरेका हुन्।
मुख्यमन्त्रीको घोषणापछि प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका छन्।
मुख्यमन्त्री शाहले राजीनामा दिने घोषणा गरेसँगै सुदूरपश्चिम प्रदेशको आगामी सरकार गठनको प्रक्रिया र राजनीतिक समीकरणबारे चासो बढेको छ।


प्रतिक्रिया