कञ्चनपुर २६ जेठ, भारतमा जागिर लगाइदिने प्रलोभन देखाएर युवाहरूलाई ठगी तथा मानसिक दबाबमा पार्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक दर्जन बढीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीले गौरीगंगा नगरपालिका–७ का २२ वर्षीय चक्रबहादुर साउदसहितका पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएकोमा उनीहरूलाई समातिइएको हो।
जाहेरीअनुसार आरोपितहरूले भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा रहेको ‘विन्स्पायर वर्ल्ड कम्पनी’मा विभिन्न पदमा जागिर लगाइदिने भन्दै युवाहरूलाई प्रलोभनमा पारेका थिए।
उनीहरूलाई सात दिनसम्म विभिन्न तालिम तथा मानसिक र भावनात्मक प्रशिक्षण गराइएको, कम्पनीको होस्टेलमा राखिएको तथा परिवारसँग सम्पर्क गर्न नदिई मोबाइलसमेत नियन्त्रणमा लिइएको आरोप छ।
पीडितहरूको भनाइअनुसार कम्पनीमा काम गर्न सुरुमा प्रतिव्यक्ति १० हजार भारतीय रुपैयाँ असुल गरिएको थियो। त्यसपछि थप व्यक्तिहरूलाई कम्पनीमा ल्याउन र दुई लाख भारतीय रुपैयाँ जम्मा गरे मासिक ३५ देखि ४० हजार रुपैयाँ तलब पाइने तथा नयाँ सदस्य भित्र्याएबापत प्रतिव्यक्ति २४ हजार ९१० रुपैयाँ कमिसन पाइने भन्दै प्रलोभन देखाइएको थियो।
कम्पनीमा ब्राञ्चेज, बारोन, काउन्ट, प्रि–मार्क, मार्क, प्रि–ड्युक, ड्युक र एश ड्युक गरी आठ तहका पद रहेको र पदोन्नतिसँगै होस्टेल सञ्चालन तथा मासिक एकदेखि तीन लाख भारतीय रुपैयाँसम्म आम्दानी हुने आश्वासन दिइएको पीडितहरूले बताएका छन्।
सोही जाहेरीका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको समन्वयमा भारतीय प्रहरी, भारतीय दूतावास, किन इन्डिया संस्था तथा नेपाली राजदूतावासका प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लको सहयोगमा पीडित विशाल खत्रीलाई भारतको देहरादुनबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।
