महेन्द्रनगर, कञ्चनपुर
४ असार, २०८३
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली बहुप्राविधिक शिक्षालयको आयोजनामा ‘OJT (On-the-Job Training) सेवा प्रदायक संस्थाहरूसँग MOU तथा छलफल कार्यक्रम’ सम्पन्न भएको छ। शिक्षालयमा अध्ययनरत विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास तथा कार्यस्थलगत तालिम (OJT) लाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यका साथ मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर तथा युनाइटेड डाईग्नोष्टिक ल्याबोरेटरी एण्ड रिसर्च सेन्टरसंग विद्यार्थी, प्रशिक्षक तथा शिक्षालयका कर्मचारीहरु लाई स्वास्थ्य सेवामा १० प्रतिशत देखि २५ प्रतिशत सम्म छुट सेवा दिने, विद्यार्थीहरुलाई ओ.जि.टी. को लागि प्राथमिकता दिने तथा रोजगारीको लागि समेत पहिलो प्राथमिकतामा राख्ने सम्झौता भएको छ।
शिक्षालयका विद्यार्थीहरूलाई सम्बन्धित क्षेत्रका दक्ष संस्थाहरूमा व्यावहारिक ज्ञान र सीप सिक्ने अवसर सुनिश्चित गर्न समझदारी गरिएको छ। कार्यक्रममा प्राविधिक शिक्षाको बजारमा माग र आपूर्तिबीचको दुरी कम गर्ने तथा विद्यार्थीहरूलाई प्रविधिको आधुनिक विकाससँग अभ्यस्त गराउने विषयमा सरोकारवालाहरूबीच गहन छलफल भएको थियो।
