बैशाख–२०, कञ्चनपुर
कृषि, वन तथा वातावरण मन्त्री माननीय गीता चौधरीले कञ्चनपुर जिल्लामा निर्माणाधीन तथा लामो समयदेखि रोकिएका महत्वपूर्ण योजनाहरूको स्थलगत अनुगमन गर्नुभएको छ। गृहजिल्ला भ्रमणको तेस्रो दिन मन्त्री चौधरीले वेदकोट नगरपालिका अन्तर्गत दैजी–छेला क्षेत्रमा निर्माणाधीन औद्योगिक क्षेत्र, मझगाउँमा निर्माणाधीन विमानस्थल (एयरपोर्ट) लगायतका आयोजनाहरूको अवलोकन गर्नुभएको हो।
अनुगमनका क्रममा मन्त्री चौधरीले योजनाहरूको वर्तमान अवस्था, देखिएका समस्या तथा समाधानका सम्भावनाबारे सम्बन्धित निकायका पदाधिकारीसँग जानकारी लिनुभएको थियो। दैजी–छेला औद्योगिक क्षेत्रलाई सुदूरपश्चिम प्रदेशकै आर्थिक विकासको आधारका रूपमा लिइँदै आएको छ भने मझगाउँ विमानस्थल निर्माणले यस क्षेत्रको यातायात तथा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
यसै क्रममा मन्त्री चौधरीले करिब २४ वर्षअघि तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षका कारण विस्थापित भएका आरक्ष पीडितहरूसँग पनि भेटघाट तथा छलफल गर्नुभएको थियो। पीडितहरूले आफ्ना समस्या तथा मागहरू राखेका थिए भने मन्त्री चौधरीले ती समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जनाइएको छ।
यसअघि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–०३ बाट निर्वाचित प्रतिनिधि ज्ञानेन्द्र सिंह महताले पनि पटक–पटक उक्त क्षेत्रका पीडित वर्गका समस्या बुझ्दै आएको देखिन्छ।
यता पछिल्लो निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा प्रधानमन्त्री बालेन्द्र शाहको सरकार गठन भएको केही समय मात्रै भएको छ। यद्यपि, कञ्चनपुर जिल्लाका दीर्घकालीन समस्याहरू समाधानतर्फ प्रत्यक्ष रूपमा जनताले अनुभूति गर्ने खालका निर्णयहरू भने हालसम्म प्रभावकारी रूपमा कार्यान्वयन भएको देखिँदैन।
सरकारले विकास आयोजनाहरूलाई गति दिन आवश्यक प्रक्रियाहरू पूरा गर्नुपर्ने भए पनि निर्माणाधीन योजनाहरूमा देखिएका अवरोध हटाउँदै अघि बढ्नु नै अहिलेको प्रमुख चुनौती बनेको छ। पछिल्लो समय विभिन्न उच्च पदस्थ अधिकारी तथा नेताहरू कञ्चनपुर पुगेर विमानस्थल, सुख्खा बन्दरगाह जस्ता राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमन गर्ने क्रम बढ्दो छ, जसलाई सकारात्मक संकेतका रूपमा लिन थालिएको छ।


प्रतिक्रिया