धनगढी, १८ बैशाख

२५७०औँ बुद्धजयन्तीको अवसरमा धनगढी उपमहानगरपालिका–१ स्थित धर्मोदय सभा शाखा तथा लोकचक्र बुद्धविहारको आयोजनामा शान्तिपूर्ण पदयात्रा तथा औपचारिक कार्यक्रम सम्पन्न भएको छ।

बिहान ७:३० बजेदेखि सुरु भएको शान्तिपद यात्रा बुद्धविहार परिसरबाट प्रारम्भ भई वडा नं. ३ स्थित ट्राफिक चौराहा (पृथ्वीनारायण चोक) परिक्रमा गर्दै पुनः सोही स्थानमा पुगेर समापन गरिएको थियो। पदयात्रामा बुद्धका उपदेशहरू लेखिएका पम्पलेट, बौद्ध धर्मका झण्डा तथा नेपालको राष्ट्रिय झण्डा बोकेका सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

पदयात्रामा करिब ५०० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा बुद्धविहारका अध्यक्ष कमल बहादुर पुन मगरको नेतृत्वमा लामा/गुरु/पुरोहित भन्टे धम्म रत्न, संस्थापक सदस्य जितु तुलाधर, पत्रकार, सुरक्षाकर्मी तथा विद्यार्थीहरू सहभागी भएका थिए।

पदयात्राका क्रममा बुद्धका विभिन्न शिक्षाहरू— “विगतमा ध्यान नदेऊ, भविष्यको सपना नदेख, वर्तमानमा ध्यान केन्द्रित गर”, “शत्रुले भन्दा बढी हानि गलत मार्गमा लागेको चित्तले पुर्‍याउँछ”, “अप्प दीपो भवः—आफ्नो मार्ग आफैं बनाउ”, तथा “कुनै पाप नगर्नु, पुण्य संचय गर्नु र आफ्नो चित्त शुद्ध गर्नु”—जस्ता सन्देशहरू प्रस्तुत गरिएको थियो।

पदयात्रा समापनपछि औपचारिक कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम बुद्धविहारका अध्यक्ष कमल बहादुर पुन मगरको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ रहेका थिए भने विशिष्ट अतिथिमा निर्वाचन आयुक्त डा. जानकी तुलाधर, प्रतिनिधि सभा सदस्य डा. आनन्द बहादुर चन्द, निर्वाचन आयोग नेपाल सुदूरपश्चिम प्रदेश कार्यालयका निमित्त प्रमुख प्रेमाराज भट्ट लगायतको उपस्थिति रहेको थियो।

यस अवसरमा सहभागी वक्ताहरूले बुद्धका शिक्षाले समाजमा शान्ति, सहिष्णुता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका थिए।