२३ फागुन, २०८२
कञ्चनपुर, — कञ्चनपुरको महेन्द्रनगरस्थित कबर्डहलमा आजदेखि ‘एलबीए भलिबल कप–२०८२’ प्रतियोगिता सुरु हुने भएको छ। लिटिल बुद्ध एकेडेमी, महेन्द्रनगरको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिता फागुन २३ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको व्यवस्थापन कञ्चनपुर जिल्ला भलिबल संघले गर्नेछ।

माध्यमिक विद्यालय (मा.वि.) स्तरमा आयोजना गरिएको उक्त प्रतियोगितामा कञ्चनपुर तथा आसपासका विभिन्न विद्यालयका टोलीहरूबीच प्रतिस्पर्धा हुने छ। विद्यालयस्तरमा भलिबल खेलको विकास गर्दै विद्यार्थीहरूमा खेलप्रति रुचि अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टोलीले रु. ७५ हजार सहित ट्रफी, उपविजेता टोलीले रु. ५० हजार सहित ट्रफी तथा तेस्रो स्थान हासिल गर्ने टोलीले रु. २५ हजार नगद तथा ट्रफी पुरस्कार प्राप्त गर्नेछन्।प्रतियोगिताअन्तर्गत फागुन २३ र २४ गते लिग चरणका खेलहरू सञ्चालन हुनेछन्। त्यसपछि फागुन २५ गते प्रि–क्वार्टरफाइनल, फागुन २६ गते क्वार्टरफाइनल तथा सेमिफाइनल, र फागुन २७ गते तेस्रो स्थानका लागि खेल तथा फाइनल खेल आयोजना गरिने तालिका रहेको छ।
लिग चरणमा लिटिल बुद्ध एकेडेमी (ए) र (बी), मोर्निङ ग्लोरी सेकेन्डरी स्कुल, रोजी एक्सक्लुसिभ सेकेन्डरी स्कुल, जयसीज सेकेन्डरी स्कुल, भृकुटी सेकेन्डरी स्कुल, एसपीएल एकेडेमी पुनर्वास, इन्टरनेसनल पब्लिक स्कुल, सार्क एजुकेसन फाउन्डेसन, बाल जागृति सेकेन्डरी स्कुल, महेन्द्रश्वर मावि, सरस्वती मावि पुनर्वास, जनज्योति सेकेन्डरी स्कुल, भागेश्वर मावि, बैजनाथ मावि, सिद्धनाथ मावि बेलडाँडी तथा रौलेश्वर मावि बेलडाँडी लगायतका विद्यालयका टोलीहरू सहभागी हुने छन्।
उक्त प्रतियोगितामा हरेक दिनको खेल सुरु हुनुभन्दा एक घण्टा अगाडि नै सम्बन्धित टोलीहरूले रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा उपस्थित भई खेल अवलोकन गरी खेलाडीहरूलाई उत्साह प्रदान गर्न आयोजकले सबै खेलप्रेमीहरूलाई आग्रह समेत गरेको छ।
