०५फागुन, २०८२

 कञ्चनपुर: नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस का एनपी साउदले आफू निर्वाचित भएको अवधिमा जिल्लामा महत्वपूर्ण पूर्वाधार विकासका काम अघि बढाएको बताएका छन्।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

कृष्णपुर नगरपालिका–१ दोमिल्लामा आयोजित मतदातासँगको भेटघाट कार्यक्रममा बोल्दै साउदले चारैतिर जंगल र दुबैतिर खहरे खोलाले घेरिएको बस्तीमा आधारभूत पूर्वाधार निर्माण गरिएको उल्लेख गरे। वडा कार्यालय नजिक रहेको काठको पुललाई आफ्नो पहिलो कार्यकालमै पक्की पुलमा रूपान्तरण गरिएको उनले बताए। ओदाली र खार खोलामा समेत आफ्नै पहलमा पुल निर्माण गरिएको उनको दाबी छ।

बंक–नायल–बुडर सडक निर्माणको संकल्पअनुसार काम अघि बढिरहेको जानकारी दिँदै उनले चुरे क्षेत्रमा पाँच हजार रुख कटान गरी ट्रयाक खोल्नु ठूलो चुनौती भएको बताए। मन्त्रालयस्तरमा पहल गरेर रुख कटान तथा ट्रयाक खोल्ने काम सम्पन्न गरिएको र हरेक वर्ष बजेट विनियोजन हुँदै आएकाले निर्माण कार्य छिट्टै सम्पन्न हुने उनको विश्वास छ।

दोमिल्ला र बेलडाँडी जोड्ने पुल निर्माणको योजना अगाडि बढाइएको पनि साउदले जानकारी दिए। भेटघाट र सुन्दरफाँटा जोड्ने पुल हाल निर्माणाधीन अवस्थामा रहेको तथा श्रीपुरमा डीप ट्युबेल निर्माण गरिएको उनले बताए। आफू सिँचाइ मन्त्री हुँदा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माणको सुरुवात गरिएको र त्यसपछि निरन्तर रूपमा तटबन्ध विस्तार हुँदै आएको उनको भनाइ छ।

केही योजना अझै अधुरा रहेकाले पुनः चुनावी मैदानमा उत्रिएको उल्लेख गर्दै साउदले अधुरा काम पूरा गर्न जनतामाझ आएको बताए। जित–हारभन्दा माथि उठेर जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले इमान्दारितापूर्वक काम गरेको दाबी गरे।