२५ माघ, २०८२
कञ्चनपुर — शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा खर कटानको क्रममा हराएकी एक महिलाको तीन दिनपछि सकुशल उद्धार गरिएको छ। माघ २३ गते दिउँसो करिब २:०० बजे शुक्लाफाटा नगरपालिका वडा नं. ५, बैशाखा निवासी वर्ष ५५ की मुलिया राना शुक्लाफाटा राष्ट्रिय निकुञ्ज भित्र खर कटान गर्ने क्रममा हराएकी थिइन्। महिला हराएको बारे उनका आफन्तले खबर गरेपछि नेपाली सेनाले एकल तथा संयुक्त रूपमा निरन्तर खोजी तथा गस्ती अभियान सञ्चालन गरेको थियो।

खोजी कार्यको क्रममा आज बडेनिखेडा सुरक्षा पोष्टबाट सुबेदार सिंहबहादुर तामाङको कमाण्डमा तथा अर्जुनी सुरक्षा पोष्टबाट हवल्दार राजेन्द्रबहादुर कुंवरको कमाण्डमा खटिएको संयुक्त गस्ती टोलीले समाजसेवी गणेशदत्त अवस्थीको अगुवाइमा दिउँसो करिब १ बजे शुक्लाफाटा राष्ट्रिय निकुञ्जको कोर इलाकाबाट मुलिया रानालाई सकुशल उद्धार गरेको हो।
उद्धारपछि आज दिउँसो २:३० बजे त्रीशक्ति मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दमनबहादुर चन्द र शुक्लाफाटा राष्ट्रिय निकुञ्जका सवारी चालक लोकेन्द्रबहादुर बोहराको रोहबरमा नेपाली सेनाका हवल्दार राजेन्द्रबहादुर कुंवरले उद्धार गरिएकी मुलिया रानालाई उनका श्रीमान् जस्कन रानालाई सकुशल रूपमा जिम्मा लगाएका छन्।
