२५ माघ, २०८२
टी–२० क्रिकेट विश्वकप–२०२६ हिजोबाट औपचारिक रूपमा सुरु भएको छ। भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको आइसिसी प्रतियोगिताको उद्घाटन खेलमा भारतले अमेरिकालाई २९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
हिजो राति सम्पन्न खेलमा अमेरिकाले टस जितेर घरेलु टोली भारतलाई ब्याटिङको निम्तो दिएको थियो। पहिलो ब्याटिङमा उत्रिएको भारतले अमेरिकन बलरहरूको अनुशासित र कसिलो बलिङका कारण सुरुवातमा दबाब झेलेको थियो। ओपनर अभिषेक शर्मा पहिलो बलमै शून्यमा आउट हुँदा अन्य ब्याटरहरू पनि लामो समय क्रीजमा टिक्न सकेनन्। कठिन अवस्थामा भारतीय कप्तान सूर्यकुमार यादवले जिम्मेवारीपूर्ण तथा आक्रामक ब्याटिङ प्रस्तुत गर्दै ४९ बलमा अविजित ८४ रनको शानदार पारी खेले। उनको पारीको मद्दतमा भारतले निर्धारित २० ओभरमा १६२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

लक्ष्य पछ्याएको अमेरिकी टोली भारतीय बलरहरूको धारिलो आक्रमण अगाडि टिक्न सकेन। निर्धारित २० ओभरमा अमेरिकाले १३८ रन मात्र जोड्न सकेपछि भारत २९ रनको स्पष्ट जित निकाल्न सफल भयो।
यसैबीच, नेपालले जारी विश्वकपमा आफ्नो पहिलो खेल आज मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा बेलायतसँग खेल्दैछ। सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको नेपाल सन् २०२४ र २०२५ मा लगातार विश्वकपमा छनोट हुँदै आएको छ। रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा विश्व अलराउन्डर वरियतामा रहेका दीपेन्द्र सिंह ऐरी तथा अन्तर्राष्ट्रिय लिगहरूमा आफ्नो प्रदर्शनमार्फत चर्चा कमाएका सन्दीप लामिछानेसहित अनुभवी र प्रतिभाशाली खेलाडीहरूको समावेश छ।
विश्व च्याम्पियनसमेत बनिसकेको बेलायत टोली यस विश्वकपको उपाधि जित्ने प्रमुख दावेदारमध्ये एक मानिएको छ। बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदान उत्रन लागेको नेपालले आत्मविश्वासी प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
