२० कार्तिक, २०८२
कञ्चनपुर:
गत भाद्र २३ र २४ गते नेपालभरि भएको जेन-जी आन्दोलनका कारण यातायात व्यवस्था केन्द्रिय कार्यालयको डाटा भण्डारण केन्द्रमा आगलागी भए पश्चात सर्भर बन्द भएपछि प्रभावित भएका कामहरु संचालनमा आउन शुरु भएका छन। यातायात व्यवस्था कार्यालय कञ्चनपुरले समेत हिजो एक सुचना जारी गर्दै सर्भर सुचारु भएको र सेवाग्राहीले आफ्नो कामहरु गराउन आउन मिल्ने भनिएपश्चात आज चालक अनुमति पत्र नविकरणका लागी कार्यालयमा पुगेका सेवाग्राहीहरु दोब्बर दस्तुर तिर्न बाध्य भएका छन ।
भदौ २३ गते देखि बन्द भएको सर्भरका कारण त्यस अवधिमा सवारीचालक अनुमतिपत्र नविकरणको काम रोकिएको थियो । त्यो समयमा नविकरणको कार्य गराउन नपाएका ग्राहकहरुको नविकरण गर्दा दोब्बर शुल्क लाग्नु सेवाग्राही माथी अन्याय भएको सेवाग्राहीहरुको गुनासो गरेका छन । बिषम परिस्थितिका कारण उत्पन्न भएको असुविधामा ग्राहक आफ्नो समयमा नविकरणको लागि कार्यालयमा पुगे पनि सर्भरले काम नगरे पश्चात उनीहरुको अनुमतिपत्र नविकरण कार्य रोकिएको हो ।

यातायात व्यवस्था कार्यालय कञ्चनपुरका कार्यालयका निमित्त प्रमुखका अनुसार सेवाग्राहरु अनुमतिपत्र नविकरण गराउन आउदा उनीहरु दोब्बर दस्तुर तिर्नुपर्ने बाध्यता रहेको गुनासो आफुहरु कहाँ समेत पुगेको तर यसमा आफुले केहि गर्न नमिल्ने तथा केन्द्रिय कार्यालयलाई समेत यसबारे आफुहरुले खबर गरेको तर मन्त्रीमण्डलको बैठकमा यो विषयको बारेमा निर्णय हुने बताएका छन ।
