धनगढी, २८ साउन २०८३ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने घोषणा गरेसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। नयाँ सरकार गठनका विषयमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेताहरूले प्रदेश प्रमुखसँग भेटवार्ता गरेका छन्।
बिहीबार साँझ धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीस्थित प्रदेश प्रमुखको कार्यालयमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँसँग नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र नेपाली कम्युनिस्ट पार्टीका संसदीय नेता खगराज भट्टसहित प्रदेशसभा सदस्यहरूको टोलीले भेटघाट गरेको हो।
भेटका क्रममा प्रदेशमा आगामी सरकार गठनको प्रक्रिया तथा त्यससँग सम्बन्धित कानुनी विषयमा प्रदेश प्रमुखसँग परामर्श गरिएको बताइएको छ। भेटमा दुवै दलका प्रदेशसभा सदस्यलगायत करिब १० जनाको सहभागिता रहेको थियो।
परामर्शपछि प्रदेश प्रमुखको कार्यालयले बिहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ११ बजेसम्म मुख्यमन्त्री पदका लागि दाबी पेस गर्ने समय निर्धारण गरेको जनाइएको छ।
त्यसैगरी, शुक्रबार दिउँसो ३ बजे नयाँ मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।
नयाँ सरकार गठनको तयारीसँगै नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने सम्भावना बलियो रहेको बताइएको छ। यद्यपि, अन्तिम निर्णय भने मुख्यमन्त्री पदमा औपचारिक दाबी र संवैधानिक प्रक्रियापछि स्पष्ट हुनेछ।
यसअघि बिहीबार बसेको प्रदेशसभाको आठौँ अधिवेशनको १८औँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नलिई राजीनामा दिने घोषणा गरेका थिए। मुख्यमन्त्रीको घोषणासँगै प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको हो।


टिप्पणी