१९ पुस, २०८२
धनगढी :

नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरियाको आयोजनामा सुदूरपश्चिम प्रदेश अन्तर्गत सबैभन्दा बढी विद्युत महसुल भुक्तानी गर्ने १० वटा महत्वपूर्ण उपभोक्ता संस्थालाई सम्मान गरिएको छ।
गोदावरी नगरपालिका–१ अत्तरिया स्थित नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयमा सम्पन्न सम्मान कार्यक्रममा प्रादेशिक कार्यालय प्रमुख मनोज कुमार यादवको अध्यक्षता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य रहेका थिए ।
कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, उद्योगी, व्यवसायी तथा सरोकारवालाहरू गरी करिब ८० देखि ९० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी विद्युत भुक्तानी गर्ने निम्न १० उपभोक्तालाई सम्मान गरिएको हो । लक्ष्मी कत्था उद्योग, आर.पी. एग्रो इन्डस्ट्रिज, रोरा बाबा ग्रामीण विद्युत सहकारी संस्था, गोदावरी फ्लोर मिल, भागेश्वर फ्लोर मिल, सेती प्रादेशिक अस्पताल, भाटभटेनी सुपरमार्केट, मल्टीपोलीमर, धनगढी उपमहानगरपालिका र नेपाल टेलिकम सम्मान गरिएको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हितेन्द्रदेव शाक्यले नियमित विद्युत महसुल भुक्तानीले प्राधिकरणको वित्तीय सुदृढीकरणका साथै गुणस्तरीय र भरपर्दो विद्युत सेवा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
आजै प्राधिकरण कार्यकारी निर्देशक शाक्यले धनगढी उपमहानगरपालिका–३ स्थित नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको निरीक्षण समेत गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले उपकरण राखिएको स्थानको सरसफाइमा विशेष ध्यान दिन, जिल्लाको आवश्यकता अनुसार विद्युत वितरणका लागि आवश्यक उपकरण केन्द्रले उपलब्ध गराउने तथा वर्षातको समयमा देखिन सक्ने समस्याबाट जोगिन अग्रिम तयारी गर्न निर्देशन दिनुभएको छ।
