
महेन्द्रनगर:
लामो समयबाट स्थानीयको संरक्षणमा रहेको गौरीघाट सामुदायिक वन यहि मंसिर ११ गतेका दिन दुई घण्टामै सखाप भएको छ । उक्त सामुहिक वनबाट छोटो समयको अवधिमै १६४ रुख फिल्मी शैलीमा गायब पारिएका छन् । करिब १८ बिगाह जमिन रहेको वनमा खयर र सिसमका रुख थिए । आवश्यक पर्दा दाउरा स्याउलाको लागि सहयोगि बनेको सामुदायिक वन क्षणभरमा खालि भएको हो । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वन हाल करिब बिना बोटबिरुवाको वनमा परिणत भएको छ।

कसरी भयो फडानी शुरु…..
स्थानिय व्यापारी दिपक धामीका अनुसार, मंसिर ११ गते दिउँसोको समयमा एकान दुई कान मैदान हुँदै तुफानसरी गाउँमा हल्ला फैलियो प्राविधिक शिक्षालयको (टेक्निकल कलेज) बन्नका लागि वन फडानी भईरहेको भन्ने आयो तर त्यो हल्ला कहाँबाट शुरु भयो भन्ने गाउँभरिका कसैलाई पनि थाहाँ भएन ।
सुदूरपश्चिम र मध्यपश्चिमलाई लक्षित गरि कोरियन सरकारको एक निकाय कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) को आर्थिक सहयोगमा जिल्लाको कृष्णपुर–७ मा प्राविधिक शिक्षालय बन्ने गरि सर्वे हुँदै आएको छ । १ अर्ब ५० करोडको लागतमा उक्त प्राविधिक शिक्षालय निर्माणकालागि कोरियाली सरकारको संसदले समेत बजेट पास गरिसकेको छ ।
प्राविधिक शिक्षालय निर्माणका लागि पटक–पटक कोइकाबाट प्रतिनिधि एवं ‘कन्ट्री डाइरेक्टर’ ले समेत कृष्णपुर–७ मा अध्ययन अवलोकन गरिसकेका छन् । एनपी साउँद परराष्ट्रमन्त्री हुँदा उनको पहलमा कोइकाले कृष्णपुरमा जमिन उपलब्ध भए प्राविधिक शिक्षालय बनाउने निधो गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले थालेको अध्ययन अनुन्धानबाट सुरुमा १३९ पछि २५ थप गरि १६४ खयर र सिममका रुख काटिएका छ ।वन वरपर बस्ने स्थानीयले खयर तथा सिसमको रुख काटेको गौरीघाट सामुदायिक वनकि अध्यक्ष कुमारी बोहराको दाबी छ । यद्यपी तर रुख काट्नेहरुको पहिचान भने हुँन नसकको अध्यक्ष बोहराले बताउछिन् । उनका अनुसार ११ मंसिर अर्थात् जुन दिन उक्त सामुदायिक वनबाट रुख काटिए, सो दिनमा आफू धनगढी अस्पतालमा उपचार गर्न गएको अध्यक्ष बोहराले बताइन् । आफू गाउँमा नभएको समयमा वन पुरै सखाप पारेको उनले बताइन् ।
यस्तै, वडा अध्यक्ष घुम्मन रानाले मंसिर ११ गते वडा कार्यालयमा आफू नरहेको समयमा रुख काटिएको वडा अध्यक्ष घुम्मन रानाले बताए । आफूले रुख काटिएको खबर प्रहरीबाट थाहा पाएको रानाले बताएका छन् । ’म त्यो दिन वडामा थिएन, मैलै रुख कटान भएको सूचना प्रहरीबाट थाहा पाएको हुँ,’ उनले भने, ’मैले वन क्षेत्रमा पुग्दा रुखहरू काटिएका थिए । कसले काट्यो भन्ने थाहा भएको छैन । वनले अनुसनधान गर्दैछ । यसमा संलग्न उपर अनुसन्धान हुनुपर्छ र दोषीलाई कारबाही हुनुपर्छ ।’ उक्त घटनामा डिभिजन वन कार्यालय कञ्चनपुरले समेत वन अधिकृत भरत शाहको नेतृत्वमा अनुसन्धान टोली गठन गरेर अनुसन्धान थाल्दैछ । गौरीघाट सामुदायिक वनमा रुख कटानको विषयमा अख्तियार र डिभिजन वन कार्यालयले सक्त अनुसन्धान थालेको जनाएका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखका अनुसार, सामुदायिक वन कटान गर्न प्रयोग गरिएका भन्दा पनि तिनीहरुलाई परिचालन गर्ने मुख्य व्यक्तिको पहिचान गरि कारबाहि गर्न पछाडि नपर्ने बताएका छन ।
