१५ भाद्र, २०८२
कंचनपुर :
सुदूरपश्चिम प्रदेशमा विशेष महत्वका साथ मनाइने गौरा पर्व यस वर्ष पनि धार्मिक र सांस्कृतिक उत्साहका साथ मनाइँदैछ । भाद्र शुक्ल पञ्चमीदेखि सुरु भएको यो पर्व एक सातासम्म विविध धार्मिक अनुष्ठान र सांस्कृतिक कार्यक्रम सहित धूमधामले मनाइदै छ ।
यस अवसरमा गाउँघरमा सांस्कृतिक परम्परालाई झल्काउने कार्यक्रमहरू आयोजना गर्ने गरिन्छ । महिलाहरूले गौराका फाँग गाउने, गौरा नृत्य गर्ने र देउडा खेल्ने परम्परा यस पर्वको मुख्य आकर्षण समेत हो । महिलाहरूले धान, बल , तिल र साउ (घाँस) प्रयोग गरी देवीको प्रतीक मूर्ति निर्माण गर्दछन ।
परम्पराअनुसार, महिलाहरू निराहार व्रत बसेर पाँच थरिका अन्न गहत, मास, गुरौष, गहुँ र केराउ लगायत भिजाउँछन् र ती अन्नलाई निश्चित दिन राखिसकेपछी ‘बिरुडा’ तयार पारिन्छन । यसै बिरुडा प्रयोग गरी माता पार्वती देवी (गौरा) र भगवान शिवको मूर्ति बनाई पूजा आराधना गरिन्छ। यस वर्षको पर्व भाद्र शुक्ल अष्टमी तिथिमा परेकाले विवाहित महिलाहरूले दूब धागो (पवित्र धागो) लगाउनु र अविवाहित महिलाहरूले व्रत बस्नु शुभ मानिएको छ ।
- सुदुरपश्चिम प्रदेश लगायत सुदुरपश्चिमेलीहरु भएको ठाउँहरुमा देवी गौरा (पार्वती) र महादेव (शिव) को दाम्पत्य जीवनको सम्झनामा गौरा पर्व मनाइन्छ ।
- विशेषगरी विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायु, स्वास्थ्य र परिवारको सुख-सम्बृद्धिका लागि व्रत बस्ने गर्छन् ।
- यस पर्वमा महिलाहरूले डालो (धान, गहुँ, कोदो आदि अंकुराएर पूजा गर्ने सामग्री) बनाएर देवी गौराको पूजा गर्ने गर्दछन् ।
- भदौ महिनाको कृष्णपक्ष (जन्माष्टमी नजिक) यो पर्व मनाइन्छ ।
- गाउँघरमा महिलाहरू समूह बनाएर देउँडा नाच, भजन, गौरा गीत गाएर एकता र उत्सवको रुपमा गौरा पर्व मनाउने गर्दछन् ।
- महिलाको भूमिका, श्रद्धा र समर्पण झल्काउने पर्वको रुपमा समेत गौरा पर्वलाई मान्न गरिन्छ ।
- गौरा पर्वले स्थानीय एकता, मेलमिलाप र सामूहिक संस्कृतिको अभिव्यक्ति पनि दिन्छ ।
गौरा पर्वका अवसरमा देउडा नृत्य र सामूहिक गीत–संगीत विशेष आकर्षणका रूपमा प्रस्तुत गरिने गरिन्छ । देउडा खेलमा महिलामात्र होइन, पुरुषहरूको पनि सक्रिय सहभागिता रहने भएकाले यसले सामाजिक एकता र सहकार्यलाई अझँ मजबुत बनाउनेमा विश्वास गरिन्छ। पौराणिक मान्यताअनुसार, गौरीले आफ्ना पति भगवान शिवको दीर्घायु र कल्याणका लागि यो व्रत पालन गरेकी थिइन् । सोही प्रेरणाबाट विवाहित महिलाहरूले पनि आफ्नो परिवारको सुख, शान्ति र सम्बृद्धिको कामना गर्दै यो व्रत बस्ने परम्परा रहिआएको छ। गौरा पर्वले केवल धार्मिक आस्था झल्काउँदैन, यसले गाउँ, समाजमा मेलमिलाप, सहकार्य, र आपसी सद्भाव बढाउने कार्य गरेको स्थानीयवासीहरूको बुझाइ रहेको छ।
