कञ्चनपुर, २७ जेठ – कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमीका विद्यार्थीहरूले खेलकुद क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेका छन्। हालै सम्पन्न १६औँ राष्ट्रपति रनिङ शिल्ड राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता अन्तर्गत कराँतेतर्फ लिटिल बुद्ध एकेडेमीमा अध्ययनरत छात्रा निशा चौधरीले स्वर्ण पदक जित्न सफल भएकी छिन्। राष्ट्रियस्तरको यस प्रतिष्ठित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनले विद्यालय र समग्र क्षेत्रकै गौरव बढाएकी हुन्।
यसैगरी, प्रदेशस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत कराँतेको ‘एकल काता’ (Ekal Kata) विधामा लिटिल बुद्ध एकेडेमीकै छात्र नागेश थलालले दोस्रो स्थान हासिल गर्दै रजत पदक जितेका छन्। प्रदेशभरिका प्रतिस्पर्धीहरू माझ उत्कृष्ट कला कौशल प्रदर्शन गर्दै नागेशले सो उपाधि आफ्नो नाममा गरेका हुन्।
आफ्ना विद्यार्थीहरूले प्रदेश तथा राष्ट्रिय स्तरमा हासिल गरेको यस ऐतिहासिक सफलताप्रति लिटिल बुद्ध एकेडेमी परिवारले खुसी व्यक्त गरेको छ। आगामी दिनमा पनि विद्यार्थीहरूको खेलकुद प्रतिभालाई थप निखार्न विद्यालयले निरन्तर सहयोग र प्रोत्साहन गर्ने विद्यालयले प्रतिबद्धता जनाएको छ।
विद्यालयले शिक्षा संग- संगै अतिरिक्त क्रीयाकलापहरुमा विभिन्न जिल्ला स्तरिय तथा प्रदेश स्तरिय प्रतियोगिता समेत आयोजना गर्दै आईरहेको छ।
