कञ्चनपुर, असार २३ – कञ्चनपुर प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका करिब १४ लाख रुपैयाँ बराबरका सामानसहित एक भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–६ बनगाउँ क्षेत्रमा चेकजाँच गर्ने क्रममा भारतको नम्बर UK 04 N 2255 रहेको टोयोटा कारलाई रोकी खानतलासी गरेको थियो। उक्त कार पुनर्वास नगरपालिका–१ निवासी डम्मर चन्दले चलाइरहेका थिए।
जाँचका क्रममा कारभित्र भन्सार छली गरी ल्याइएका लोटस कम्पनीका १० थान वाल फ्यान, ६ थान सिलिङ फ्यान, ४४ थान एलईडी बल्ब तथा ३ थान कलर लाइट फेला परेको प्रहरीले जनाएको छ।
बरामद सामान तथा प्रयोग गरिएको भारतीय नम्बरको टोयोटा कारसहितको कुल मूल्य १३ लाख ९७ हजार ७८० रुपैयाँ बराबर रहेको बताइएको छ।
प्रहरीले बरामद सामान, सवारीसाधन तथा चालक डम्मर चन्दलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको जनाएको छ।
सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध आयात नियन्त्रणका लागि प्रहरीले निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाउँदै लगेको जनाएको छ।
