
०४ माघ, २०८२
कञ्चनपुर:
प्रतिनिधिसभा निर्वाचन–२०८२ नजिकिँदै जाँदा राजनीतिक दलहरूले उम्मेदवार चयनलाई तीव्रता दिएका छन्। कञ्चनपुर जिल्लामा प्रतिनिधिसभाका लागि निर्धारण गरिएका तीनवटै निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलहरूले धमाधम आफ्ना उम्मेदवार घोषणा गरिरहेका छन् ।कञ्चनपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाइसकेका छन् भने नेपाली कांग्रेसले आन्तरिक विवादका कारण केही क्षेत्रमा अझै उम्मेदवार घोषणा गर्न सकेको छैन।
कञ्चनपुर क्षेत्र नम्बर ३
कञ्चनपुर क्षेत्र नं. ३ मा नेकपा एमालेले पुनः एकपटक डा. दीपक प्रकाश भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। नेपाल कम्युनिष्ट पार्टीले भने यसअघि सुदूरपश्चिम प्रदेशसभा सदस्य भइसकेका मान बहादुर सुनारलाई उम्मेदवार बनाएको छ। यस क्षेत्रबाट अघिल्लो निर्वाचनमा विजयी भएका पूर्व गृहमन्त्री रमेश लेखकको उम्मेदवारीबारे कांग्रेसले आन्तरिक द्वन्द्वका कारण अहिलेसम्म कुनै आधिकारिक निर्णय सार्वजनिक गरेको छैन । एमाले, नेकपा र कांग्रेस बाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी टुंगो लगाइसकेको छ। राप्रपाबाट यसपटक समाजसेवी, व्यवसायी तथा पार्टीका सह–प्रवक्ता पूर्ण बहादुर चन्द प्रतिनिधिसभा उम्मेदवार बन्ने भएका छन् ।
कञ्चनपुर क्षेत्र नम्बर २
क्षेत्र नं. २ मा नेकपा एमालेबाट वचन बहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टीबाट लाल बहादुर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीबाट दीपक बोहराको उम्मेदवारी टुंगिएको छ। यसअघि नेपाली कांग्रेसका एन.पी. साउद विजयी भएको यो क्षेत्रमा कांग्रेसभित्रको आन्तरिक विवादका कारण हालसम्म एन.पी. साउदको उम्मेदवारी हुने नहुने टुंगो लाग्न सकेको छैन ।
कञ्चनपुर क्षेत्र नम्बर १
कञ्चनपुर क्षेत्र नं. १ मा नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट बीना मगर र नेकपा एमालेको तर्फबाट तारालामा तामाङको उम्मेदवारी पक्का भएको छ। यसअघि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य रहेका तारालामा तामाङको सट्टा हिजो बसेको एमालेको बैठकले प्रत्यक्षतर्फ कमला बोहरालाई उम्मेदवार चयन गरेको थियो । आफ्नो निर्णयलाई परिवर्तन गर्दै नेकपा एमालेले आज पुनः तारालामा तामाङ्लाइ नै आफ्नो उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले भने हालसम्म उम्मेदवार घोषणा गरेका छैनन् ।
निर्वाचन आयोगले यसअघि माघ-०६ गते मनोनयन दर्ता हुने बताएको भएतापनी निर्वाचनमा उम्मेदवारी दिने सम्पुर्ण दलहरुले आफ्नो उम्मेदवार तोकिसकेको भने छैन । मनोनयन दर्ताको २ दिन मात्र बाकी रहदा समेत पनि रास्वपा नेपाल र नेपाली काङ्ग्रेसको अझै उम्मेदवारको टुंगो लागेको छैन ।
