१५ पुस २०८२
कञ्चनपुर,
सञ्जु महर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भिमदत्त नगरपालिका कार्यसमिति कञ्चनपुरले सामाजिक सेवाअन्तर्गत ब्रह्मदेव आश्रममा न्यानो लुगा तथा खाद्यान्न सामग्री वितरण गरेको छ।आश्रममा आश्रित जेष्ठ नागरिकहरूलाई लक्षित गर्दै १६ थान स्विटर र ६ थान ज्याकेट वितरण गरिएको हो। त्यसैगरी १५ लिटर दूध, २ केजी चिनी, ५ केजी चामलसहित विभिन्न पोषिलो खाद्य सामग्री पनि हस्तान्तरण गरिएको नगर कार्यसमितिले जनाएको छ।
भिमदत्त नगर सभापति दिनेश भट्टले चिसो मौसममा बुढाबुढी आमाबुबाहरूलाई स्वास्थ्यसम्बन्धी समस्या हुने भएकाले न्यानो लुगा वितरण गरिएको बताए। उनले समाजका असहाय तथा जेष्ठ नागरिकप्रति राज्य र समाज दुवैको दायित्व हुने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए। रास्वपाले स्थापना कालदेखि नै समाजसेवाका कार्य गर्दै आएको र आगामी दिनहरूमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यलाई निरन्तर अघि बढाइने पार्टीले जनाएको छ।
