महेन्द्रनगर, २५ जेठ ।
कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्र राजमार्गमा आइतबार दिउँसो विद्युतीय (ईभी) हायस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
धनगढीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको सु.प.प्र. ०२-००१ ज ४९६ नम्बरको हायस अनियन्त्रित भई सडक किनारको नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटना दिउँसो साढे ३ बजेतिर भएको हो।
घाइते हुनेहरूमा कञ्चनपुर, कैलाली, दार्चुला र डडेल्धुराका यात्रुहरू रहेका छन्। दुर्घटनालगत्तै प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो। घाइते सबैलाई उपचारका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पठाइएको छ।
घाइतेहरूको विवरण र अवस्था:
मध्यम अवस्थाका घाइतेहरू (४ जना):
पुष्कर राज गिरी (४३ वर्ष) – कृष्णपुर न.पा.–९ पिपरिया, कञ्चनपुर (छातीमा भित्री चोट)
जीवन सिंह कडाल (२० वर्ष) – बेदकोट न.पा.–१० नयाँगाउँ, कञ्चनपुर (दाहिने हात र कम्मरमा चोट)
राधा देवी शाह (४५ वर्ष) – टिकापुर न.पा.–९ खैरीफाटा, कैलाली (टाउको, छाती र कम्मरमा चोट)
सम्झना सिंह (२५ वर्ष) – धनगढी उ.म.न.पा.–५ हसनपुर, कैलाली (दाहिने हातमा चोट)
सामान्य अवस्थाका घाइतेहरू (९ जना):
सरस्वती देवी कुँवर (६१ वर्ष) – धनगढी उ.म.न.पा.–४ उत्तरबेहडी, कैलाली (पिठ्युँमा चोट)
विष्णु सिंह (५५ वर्ष) – धनगढी उ.म.न.पा.–६ हसनपुर, कैलाली (टाउकोमा भित्री चोट)
आंशिका कुँवर (१७ वर्ष) – धनगढी उ.म.न.पा.–४ उत्तरबेहडी, कैलाली (दाहिने हातमा चोट)
पुष्पा बोहरा (१६ वर्ष) – धनगढी उ.म.न.पा.–४ उत्तरबेहडी, कैलाली (टाउकोमा भित्री चोट)
गजेन्द्र सिंह कुँवर (६० वर्ष) – महाकाली न.पा.–१ फापरी, दार्चुला (बायाँ हातमा चोट)
सुमित्रा कुँवर (३२ वर्ष) – महाकाली न.पा.–१ फापरी, दार्चुला (बायाँ हातमा चोट)
ईश्वरी देवी भुल (५५ वर्ष) – नवदुर्गा गा.पा.–२ बडम, डडेल्धुरा (दाहिने हातमा चोट)
सुनील भुल (२२ वर्ष) – नवदुर्गा गा.पा.–२ बडम, डडेल्धुरा (बायाँ खुट्टामा चोट)
पुष्प राज पन्त (२८ वर्ष) – अजयमेरु गा.पा.–६ कानाकोट, डडेल्धुरा (दाहिने खुट्टा र हातमा चोट)
प्रहरीका अनुसार दुर्घटनाका बेला हायसमा चालकसहित जम्मा १७ जना सवार थिए। हायस चालक बेदकोट नगरपालिका–९ सुन्दरपुर बस्ने २८ वर्षीय हेम जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त हायस घटनास्थलमै रहेको र राजमार्गमा यातायात अवरोध नभई सवारी साधन सुचारु रहेको प्रहरीले जनाएको छ।
