कञ्चनपुर, जेठ १८ — भारतको उत्तराखण्ड राज्य अन्तर्गत चम्पावत प्रहरीले लागूऔषधविरुद्ध सञ्चालन भइरहेको “ड्रग्स फ्री देवभूमि” अभियान अन्तर्गत ४३ वटा अवैध लागूऔषध इन्जेक्सन सहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ।
चम्पावतकी प्रहरी अधीक्षक रेखा यादव को निर्देशनमा लागूऔषध तस्करी नियन्त्रणका लागि विशेष निगरानी तथा कारबाही सञ्चालन भइरहेको अवस्थामा विशेष कार्यदल (एसओजी) र बनबासा प्रहरीको संयुक्त टोलीले बनबासा क्षेत्रको रेलवे स्टेशन रोडमा चेकजाँचका क्रममा एक जनालाई पक्राउ गरेको हो।
क्षेत्राधिकारी टनकपुर निहारिका सेनवाल को पर्यवेक्षण तथा एसओजी प्रमुख कमलेश भट्टको नेतृत्वमा खटिएको टोलीले भीमदत्त नगरपालिका–१८ गोवरिया , कञ्चनपुर निवासी ३२ वर्षीय युवकलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले उनको साथबाट २३ वटा बुप्रेनोर्फिन हाइड्रोक्लोराइड इन्जेक्सन र २० वटा प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन गरी जम्मा ४३ वटा अवैध लागूऔषध इन्जेक्सन बरामद गरेको छ। साथै उनले प्रयोग गरेको डिस्कभर मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका युवक विरुद्ध बनबासा प्रहरी थानामा भारतको लागूऔषध नियन्त्रण सम्बन्धी एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
चम्पावत प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारविरुद्धको अभियानलाई अझ सशक्त बनाउँदै यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही जारी रहने जनाएको छ।
