कञ्चनपुर, फागुन २८ — कञ्चनपुरको बेदकोट नगरपालिका–७ लालपुर चोकस्थित पूर्व–पश्चिम राजमार्गमा जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से.१च.१४०५ नम्बरको सामान बोक्ने बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको म.२ प.३५०६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। उक्त जिप कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोके बजारका करिब २२ वर्षीय सुनिल चौधरीले चलाएका थिए।
दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगि दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पठाइएको थियो। अस्पतालका चिकित्सकहरूले जाँच गर्दा दुवै जनालाई मृत घोषणा गरेका हुन्।
मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बाराकुण्डा धरमपुरका करिब ४० वर्षीय राम लुहार र मोटरसाइकलको पछाडि सवार सोही नगरपालिका शान्तिटोलका करिब ४०–४२ वर्षीय दान सिंह धामी रहेको मृतकका भतिजा अम्मर सिंह धामीले प्रहरीलाई जानकारी दिएका छन्।
हाल दुवै जनाको शव महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरको शवगृहमा राखिएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल, जिप तथा जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
